काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको पूर्वस्वीकृतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्रिपरिषद्बाट हालै स्वीकृत ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ कार्यान्वयनमा आएसँगै मन्त्रालयले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कार्यक्रमको नियमन कडा बनाएको हो।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको पाइएकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको हो। मन्त्रालयले अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा सूचना दिन सबै सरोकारवालालाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएको नियमावलीले विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू गरेको छ।

