काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रम सञ्चालन गर्दै स्थानीय उपभोक्ताको आर्थिक अवस्था सुधारमा योगदान पुर्याइरहेको छ।
वनले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यमलाई प्राथमिकता दिँदै रोजगारी र आयआर्जनका अवसर सिर्जना गरेको छ। करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गरिएको छ। हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेको छ।
सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै ४ लाख ९२ हजार ९०५ रुपैयाँ आम्दानी भएको छ। स्थानीय किसानले तरकारी खेती, डोको–डालो बनाउने, घर निर्माण, कुखुरापालन र जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन्।
वनले फलफूल खेती पनि विस्तार गरेको छ। चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची र विभिन्न जातका करिब ५०० आँपका बिरुवा रोपिएकोमा अहिले उत्पादन हुन थालेको छ। फलफूल बगैँचा पाँच वर्षका लागि चार लाख रुपैयाँमा ठेक्कामा दिइएको छ।
वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योगका लागि आवश्यक मेसिन खरिद गरिसकिएको र उपभोक्तालाई सीपमूलक तालिमसमेत प्रदान गरिएको उनले बताए।
सामुदायिक वनले चार हेक्टर क्षेत्रमा बेसार खेती गर्दै वार्षिक ४० देखि ५० क्विन्टल उत्पादन गर्दै आएको छ। उत्पादनको गुणस्तर कायम गर्न सौर्य ड्रायर पनि जडान गरिएको छ।
यसका साथै मौरीपालन प्रवर्द्धनका लागि दुई हजार चिउरीका बिरुवा रोप्ने, वनभित्र पिकनिकस्थल निर्माण गर्ने तथा सुनदेवी तालसम्म पदमार्ग बनाउने योजना पनि अघि बढाइएको छ।
वनले संरक्षणसँगै सामुदायिक विकास, विपन्न लक्षित आयमूलक कार्यक्रम, सीप विकास, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र पूर्वाधार विकासका काम गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको वनले जनाएको छ।

