काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ।
शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकाको प्रवेशद्वार तथा नगर बसपार्क निर्माणका योजना अनुमोदन गरेको हो।
साथै, नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ। बजेटले दिगो विकास, राजस्व वृद्धि, सेवा प्रवाहमा सुधार, ताल तथा उद्यान संरक्षण, हरियाली प्रवर्द्धन र विकास आयोजनाको प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राखेको छ।

