काठमाडौँ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चार गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ।
जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर र राप्तीसोनारी–२ को गोभारपुरमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो। साइरन प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तु बस्ती नजिक आइपुगेको जानकारी समयमै दिएर स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उनले बताए।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गत असारमा जिपिएस ट्र्याकिङ प्रणालीसमेत सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार उक्त प्रविधिमार्फत वन्यजन्तुको गतिविधि निगरानी गर्न र जोखिमको पूर्वआकलन गर्न सहज भएको छ।
निकुञ्ज प्रशासनले बस्ती सुरक्षित बनाउन तारबार, मेषजाली, बाख्रा सुधार तथा भकारो सुधारलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले वर्षौंदेखि जङ्गली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमणका कारण मानवीय र अन्नबालीको क्षति बेहोर्दै आएका छन्। विशेषगरी ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार गाउँमा हात्तीलगायत वन्यजन्तु प्रवेश गर्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर सुरक्षित स्थानमा जान र आवश्यक सावधानी अपनाउन सक्ने भएका छन्। यसले सम्भावित मानवीय क्षति रोक्न महत्त्वपूर्ण योगदान पुर्याएको उनले बताए।
हाल बाँके राष्ट्रिय निकुञ्जमा नौ वटा जङ्गली हात्ती रहेका छन्। निकुञ्जभित्र पर्याप्त आहारको अभाव हुँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने समस्या अझै कायम रहेको छ।

