महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालन रोक

काठमाडौँ ।  महाकाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नदीको बहाव एक लाख क्युसेक नाघेपछि मंगलबार बिहानदेखि सवारी सञ्चालनमा रोक लगाइएको हो।

दिउँसो १ः३० बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ, जुन बिहानको तुलनामा थप वृद्धि भएको हो।

सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा आगामी केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै साना नदी, खोला र नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको