काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालयमै सेवाग्राहीबाट घुस बुझ्ने क्रममा नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै पाँच लाख रुपैयाँ घुस मागेका थिए। घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाइने भन्दै कम्पनीबाट आवश्यक कागजातसमेत मागिएको आरोप छ।
स्रोतका अनुसार बुधबार घुस बुझ्ने योजना बनाइए पनि विभिन्न कारणले भेट हुन नसकेपछि पालले कम्पनीका प्रतिनिधिलाई अर्को दिन बिहान भेट्न आग्रह गरेका थिए। उनले एक बिचौलियाको सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए। बिचौलियाले रकम आफ्ना भाइमार्फत बुझाउन भनेपछि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए।
कार्यालयमै पाँच लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

