काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरोको जोखिम कम गर्न ढिस्को काट्ने कार्यका लागि दैनिक दुईदेखि तीन घण्टासम्म सवारीसाधन रोक्ने तयारी गरिएको छ।
डिभिजन सडक कार्यालय चितवनका अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सवारी रोक्ने समय तय भएपछि काम सुरु गरिनेछ। निर्माण कम्पनीले आवश्यक उपकरण तुइन खोलामा पुर्याइसकेको छ।
करिब दुई महिनामा जोखिमपूर्ण ढिस्को हटाउने लक्ष्यसहित काम गरिनेछ। पहिलो चरणमा जोखिमयुक्त ढिस्को हटाइने र त्यसपछि ‘नेलिङ’ प्रविधिबाट भित्तोलाई मजबुत बनाइने योजना छ।
२२ करोड २१ लाख रुपैयाँको लागतमा भइरहेको यो आयोजना १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नारायणगढ–मुग्लिन सडकलाई राजधानीको ‘लाइफलाइन’ मानिन्छ, जहाँ दैनिक करिब १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्।

