काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रले पशुपालन क्षेत्रमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण तथा एक स्वास्थ्य अवधारणाबारे किसानलाई तालिम दिएको छ।
एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैंक, जिनेक्स र साथगुरुको सहयोगमा आयोजना गरिएको तालिममा चितवन र नवलपुरका ५३ जना पशुपालक किसान सहभागी भएका थिए। सहभागीमध्ये ५० प्रतिशतभन्दा बढी महिला किसान रहेका थिए।
एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी (फङ्गस) र परजीवीजस्ता सूक्ष्मजीवलाई नियन्त्रण गर्ने वा तिनको वृद्धि रोक्ने औषधिलाई जनाउँछ। यसको गलत वा अत्यधिक प्रयोगले औषधि प्रतिरोधी समस्या बढ्ने भएकाले जिम्मेवार प्रयोग आवश्यक रहेको तालिममा जानकारी दिइएको थियो।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन डा. शङ्कर बसैलाले पशुपालन क्षेत्रको दिगो विकासका लागि किसानमा वैज्ञानिक ज्ञान, जैविक सुरक्षा र औषधिको सही प्रयोग गर्ने संस्कार विकास गर्नुपर्ने बताए।
तालिममा विश्वविद्यालयका रजिस्ट्रार तथा पशुचिकित्सा विषयका प्राध्यापक डा. सुवीर सिंह, पूर्वउपकुलपति प्राडा होमबहादुर बस्नेत, प्राडा मनोजकुमार शाह, प्राडा रेवन्तकुमार भट्टराई, डा. अनिलकुमार तिवारी, डा. शेखर पोखरेल र डा. रामकृष्ण यादवले विषयगत प्रशिक्षण र अन्तरक्रिया सञ्चालन गरेका थिए।
तालिमका क्रममा किसानहरूले पशु रोग व्यवस्थापन, एन्टिबायोटिकको उचित प्रयोग, खोप, जैविक सुरक्षा, पशु स्वास्थ्य, उत्पादन व्यवस्थापनलगायत दैनिक पशुपालनसँग सम्बन्धित समस्या र जिज्ञासा राखेका थिए।

