काठमाडौँ । पछिल्ला वर्षहरूमा गुरु पूर्णिमा परम्परागत शैलीभन्दा फरक ‘टिचर्स डे’ जस्तै मनाउने प्रवृत्ति बढ्दै गएको भन्दै शिक्षाविद्हरूले यसको मौलिकता जोगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
गुरु पूर्णिमाको अवसरमा देशभरका विद्यालयमा शिक्षक सम्मान, सांस्कृतिक कार्यक्रम र केक काट्ने कार्यक्रम आयोजना भए पनि शिक्षाविद्हरूले गुरु–शिष्य परम्परा, संस्कार र ज्ञानप्रतिको सम्मानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनीहरूका अनुसार वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमा ज्ञान, अनुशासन, संस्कार र चरित्र निर्माणसँग जोडिएको महत्वपूर्ण पर्व हो। विश्व शिक्षक दिवस भने हरेक वर्ष अक्टोबर ५ मा मनाइने भएकाले गुरु पूर्णिमाको मौलिक सांस्कृतिक महत्व जोगाउनुपर्नेमा जोड दिएका छन्।

