एजेन्सी । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजित ‘समूह–७७ र चीन’ को ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
मन्त्री खनालले बहुपक्षीयतालाई थप सुदृढ बनाउन एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो।
उहाँले संयुक्त राष्ट्रसंघ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई सुदृढ गर्दै पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गर्नुभयो।
आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्गसमेत उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनको प्रभाव सामना गर्न जलवायु न्यायको आवश्यकता औँल्याउनुभयो।

