मकवानपुर । काठमाण्डौबाट सर्लाही तर्फ जादै गरेको ई भि गाडि मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमानै ज्यान गएको छ ।घाईतेहरुको निशुल्क उपचारका गर्न रा स्व पा सभापतिले आग्रह गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन् ।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरी १० वर्षीया अनु कुमारी यादव, सात वर्षीया दिक्षा यादव र पाँच वर्षीया दिपिका यादव रहेका छन् ।
त्यस्तै, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवीको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन् ।
दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पु¥याइएको थियो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अवधेश यादवका १४ महिने छोरा सुदीप यादव र मृतक गुड्डु यादवका तीन वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले लेख्नुभएको छ, “छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ।”
उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भन्नुभएको छ, “घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।”उहाँले सामाजिक संजालमा उल्लेख गर्नभएको छ ।

