सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ मा पर्ने सिरहा र सप्तरीको सीमा क्षेत्रस्थित बलान खोलाको बीच भागमा गाँजा लुकाएर राखिएको अवस्थामो प्रहरीले फेला परेका छ ।
प्रहरीका अनुसार राति करिब १ बजेको समयमा उक्त स्थानमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको हो। प्रहरीले बरामद गरेको उक्त पदार्थको तौल गर्दा २३१ किलो ८०० ग्राम रहेको पुष्टि भएको छ।
प्रहरी टोलीले गाँजा बरामद गरे पनि उक्त गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने खुल्न सकेको छैन। घटनास्थलमा गाँजा राख्ने व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ।
खोलाको बीच भागमा खाल्डो खनेर ठूलो परिमाणमा लागुऔषध लुकाएर राखिएको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ। बरामद गरिएको गाँजाको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

