रसुवामा विपद् प्रभावित बालबालिकाका लागि १३ बालमैत्री केन्द्र स्थापना

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासलाई ध्यानमा राख्दै रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा स्थापना गरेका ती केन्द्र विपद्बाट प्रभावित बालबालिकालाई सुरक्षित तथा सहज वातावरण उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।

स्थापना गरिएका १३ केन्द्रमध्ये हालसम्म नौ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको प्रक्रियामा रहेका छन्। सञ्चालनमा रहेका केन्द्रबाट हालसम्म ४६२ जना बालबालिका लाभान्वित भएका छन्।

ती केन्द्रमा बालबालिकाको उमेर र आवश्यकताअनुसार विभिन्न खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्। यस्ता गतिविधिले बालबालिकालाई विपद्पछिको कठिन परिस्थितिमा सहज रूपमा घुलमिल हुन र आफ्ना भावना व्यक्त गर्न सहयोग पुर्‍याएको छ।

नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाका अनुसार केन्द्रमा सहभागी ४६२ बालबालिकामध्ये २१९ जना बालक र २४३ जना बालिका रहेका छन्। उमेर समूहअनुसार पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्षभन्दा माथिका ३७४ जना बालबालिका केन्द्रमा सहभागी छन्।

केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका बालबालिका रहेको पनि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको