काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समिति झापाले लामो समयदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा रहेका ती परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने परिवारहरू २०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए।
लामो समयसम्म जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न नसकेका उनीहरू पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
समितिले वितरण गरेका जग्गामध्ये केही आवासीय प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि छुट्याइएको जनाएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले जग्गाधनी पुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाइएको समितिले जनाएको छ।
यस पहलले लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका परिवारलाई कानुनी रूपमा जग्गाधनी बन्ने अवसर प्रदान गरेको छ।

