इरान र अमेरिकाबीच बढ्दो तनावका कारण अमेरिकी सेयर बजारमा दबाब परेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः खोल्नेसम्बन्धी इरानको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी वित्तीय बजार प्रभावित भएको हो।
दुई देशबीचको तनावले तेल आपूर्तिमा अवरोध आउन सक्ने आशङ्कासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यससँगै अमेरिकी सरकारी ऋणपत्रको ब्याजदरसमेत उकालो लागेको छ।
अमेरिकाको १० वर्षे सरकारी ऋणपत्रको ब्याजदर सात आधारबिन्दुले बढेर ५ दशमलव २५ प्रतिशत पुगेको छ। यो सन् २०२६ कै उच्च स्तर हुनुका साथै सन् २००७ को मध्ययताकै सबैभन्दा उच्च दर हो।
त्यस्तै, ३० वर्षे सरकारी ऋणपत्रको ब्याजदर ५ दशमलव ६ प्रतिशतको नजिक पुगेको छ भने दुई वर्षे ऋणपत्रको ब्याजदर पाँच आधारबिन्दुभन्दा बढीले बढेर ४ दशमलव ९१६ प्रतिशत पुगेको छ।
होर्मुज जलडमरूमध्यसम्बन्धी प्रस्ताव अस्वीकार भएपछि सुरुआती कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। पछि मूल्यमा केही गिरावट आए पनि तेलको भाउ उच्च नै रह्यो। पश्चिमी टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेल करिब ९२ दशमलव ६ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको थियो।
यसैगरी, उत्तरी सागरबाट उत्पादित ब्रेन्ट कच्चा तेलको मूल्य शून्य दशमलव ९२ प्रतिशतले बढेर प्रतिब्यारेल १०५ अमेरिकी डलरभन्दा माथि पुगेको छ।
तेलको मूल्यमा भएको वृद्धिले अमेरिकामा मुद्रास्फीति थप बढ्न सक्ने चिन्ता पनि बढाएको छ। मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर थप वृद्धि गर्न सक्ने सम्भावनाले लगानीकर्तामा अन्योल सिर्जना गरेको छ।
बजारमा उपलब्ध अनुमानअनुसार अक्टोबर २८ मा हुने अमेरिकी केन्द्रीय बैंकको बैठकमा ब्याजदर थप शून्य दशमलव २५ प्रतिशत बिन्दुले बढाइने सम्भावना करिब ७० प्रतिशत रहेको छ। यसले अमेरिकी वित्तीय बजारमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ।

