बाँके । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा बाँकेमा तीन हजार ५० जना मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार मृत्यु भएका तथा दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिहरूको विवरण अद्यावधिक गरी उनीहरूको नाम हटाइएको हो।
मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार २०८३ भदौ १५ गतेसम्म प्राप्त विवरणका आधारमा नाम हटाइएको कार्यालयले जनाएको छ। स्थानीय तहबाट मृत्यु भएको प्रमाणित भई आएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नाम रहेका मतदाताको नाम सूचीबाट हटाइएको प्रमुख शाहीले जानकारी दिनुभयो।
सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट ८२० जनाको नाम हटाइएको छ। त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६, राप्तीसोनारीबाट ३७१, खजुराबाट ३२०, बैजनाथबाट २८९, जानकीबाट १८६, डुडुवाबाट १७७ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम हटाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८२ चैत २२ देखि २०८३ असोज २२ गतेसम्म अनलाइन आवेदनमार्फत तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कुल १३ हजार ८९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
नाम दर्ता गराउनेमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष रहेका छन्।

