काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन सुरु गरेको जनाएको छ।
क्यानले विज्ञप्ति जारी गर्दै दुर्घटनाको छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही र सुधारात्मक उपाय अवलम्बन गरिने जनाएको छ।
दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ। क्यानले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा समवेदना प्रकट गरेको छ।
त्यस्तै, दुर्घटनामा घाइते भएका न्यूजिल्यान्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
आज बिहान ८ः१२ बजे फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन–एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर दुर्घटनामा परेका थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया पनि अघि बढाइएको क्यानले जनाएको छ।

