काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागको मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

