काठमाडौँ । आज कार्तिक शुक्ल नवमी अर्थात् कुष्माण्ड नवमी । धार्मिक मान्यताअनुसार आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्ने विश्वास गरिन्छ ।
यस दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी तथा धातृ नवमीका नामले पनि चिनिन्छ । आज अमलाको वृक्षका साथै भगवान् विष्णुको विशेष पूजाअर्चना गर्ने परम्परा रहेको छ ।
धर्मशास्त्रअनुसार आज भगवान् विष्णु र अमलाको वृक्षको पूजा गरी अन्नलगायतका वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने धार्मिक विश्वास छ । यसैगरी, अमला र पीपलको विवाह गरिदिँदा पुण्य प्राप्त भई त्यसको फल जन्मान्तरसम्म कायम रहने जनविश्वास रहेको छ ।
पद्मपुराणका अनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेको धार्मिक कथन छ । उक्त दैत्यको शरीरबाट कुभिण्डो उत्पन्न भएकाले यस दिन कुभिण्डो दान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
आजको दिन कुभिण्डो, सुन, चाँदी, पहेँलो कपडा तथा तामाको भाँडोमा तिल राखेर दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।

