काठमाडाैं । सरकारले दमक भ्युटावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले यसकाे जानकारी दिनुभयाे ।
यसैगरि डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने, औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव शोभाकान्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । गत वैशाख २५ र ३१ बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले वैशाख ३० देखि जेठ १ गतेसम्म युएईको दुबईमा आयोजना हुने विश्व प्रहरी सम्मलेनमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएकाे बताउनुभयाे ।

May 16, 2025, Jyotishsanchar press

