‘सगरमाथा संवाद’ काे उद्घाटन आज, कार्यक्रम जेठ ४ गतेसम्म चल्ने, १७५ विदेशी पाहुना सहभागी हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि जेठ ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।

संवादको उद्घाटन समारोह शुक्रबार बिहान ‘द सोल्टी होटल’मा हुनेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा जानकारी दिँदै सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने बताइन् ।

उनले भनिन्, ‘संवादको तयारी पूरा भएको छ, संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ । बाह्र देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।’ चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उद्घाटन समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिनेछिन् । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ ।

भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ । कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ । उद्घाटनपछि बिहान ११ः ३० बजेदेखि दिउँसो १ः३० बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलनको प्रारुपमा ‘प्लेनरी सेसन’ आयोजना हुनेछ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहनेछ ।

शुक्रबार दिउँसो २ः३० बजेदेखि १२ छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुनेछ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइनेछ ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले बताए । उनले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको उल्लेख गरे ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । बढ्दो जलवायु परिवर्तनका असरका कारण जलवायुजन्य हानिनोक्सानी, विपद्, जैविक विविधिताको हस, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक सबैभन्दा बढी आक्रान्त छन् ।

यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य लिएको छ ।

Sagarmatha Day

May 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको