अन्नपूर्ण आरोहणको हीरक महोत्सव आयाेजना हुँदै

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा जेठ १६ देखि २१ गतेसम्म ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो । आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिनुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग उद्घाटनसमेत हुनेछ ।

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा गरी चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।

आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १६ देखि २१ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक हर्जोगका छोरो माथिएस हर्जोगसहित फ्रान्सेली आरोही, विभिन्न देशका राजदूतलगायतले सहभागिता जनाउने उपाध्यक्ष पुनले बताइन् ।

Annapurna Himal

May 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको