काठमाडाैँ । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ।
आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उहाँले बताउनुभयो । महासचिव पोखरेलका अनुसार काठमाडौं उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जन सांस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।
महासचिव पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउनुभयो ।

May 25, 2025, Jyotishsanchar press

