काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ ।
आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गर्नुभएको छ । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ । उहाँले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गर्नुभयो ।
जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्यमान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ ।

May 29, 2025, Jyotishsanchar press

