सुनसरी। कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । बिहीबार वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको सङ्ख्या बढेको पाइएको हो ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ।
यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमितरूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गङ्गेटिक प्रजातिको डल्फिन पाइन्छ । जुन दुर्लभ मानिन्छ ।
गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भिमकाली गुल्म तथा हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।

June 6, 2025, Jyotishsanchar press

