मधेस प्रदेशः विपदबाट चालु आर्थिक वर्षमा ४ सय २२ जनाको मृत्यु

महोत्तरी। मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४ सय २२ जनाको ज्यान गएको छ ।

बर्दिबासमा आइतबार मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो ।

साना-ठूला गरी यस अवधिमा दुई हजार २ सय ५८ विपद्का घटना घटेकामा ९ सय जना घाइते र ५६ करोड ६७ लाख २४ हजार २ सय १२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण बर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आङ्कलन छ । यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ परिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले स्पष्ट पारे ।

महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

Madhesh Pradesh

June 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको