गर्मीले सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज, जनजीवन कष्टकर

काठमाडाैं । केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो।

पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए। उनले भने, ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मी महसुस भइरहेको हो, यसबाहेक धेरै समय मानिसले न्यूनतम तापक्रममा बस्नुपर्ने अवस्थाले पनि गर्मी महसुस भएको हो।’

धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा बुधबार अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको कार्यालयले जनाएको छ। पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश पुग्न सकिरहेको छैन।

चर्को गर्मीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित पारेको छ। गर्मी बढ्दै जाँदा विद्यालयमा बिदा दिनुपर्ने माग अभिभावकबाट उठ्न थालेको छ। गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ। गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ।

बढेको गर्मीले पक्की घर तात्न थालेपछि राति कोठामा सुत्न नसकेर अनिँदो बस्नुपरेको स्थानीय मनिराम जोशीले बताए। गर्मीसँगै तात्ने पक्की घरका छतमा पानी जम्मा गरेर कोठालाई शीतल बनाउने प्रयास कतिपयले गरिरहेको देखिन्छ। गर्मी बढेसँगै धनगढीका स्वास्थ्य क्लिनिक र अस्पतालमा बान्ता हुने, ज्वरो आउने र टाइफाइड देखिने बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

Weather Tprbsqrmis

June 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको