पनौतीकाे हिलेजात्रा सम्पन्न

पनाैती । काभ्रेपलाञ्चोकको पनौतीमा देवताबिच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) बुधबार राति सम्पन्न भएको छ ।

जात्राको अन्तिम दिन अर्थात् बुधबार पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकापसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ । सम्पूर्ण पूजा–अर्चना गरी रथयात्रा सम्पन्न गरी राति अबेर चिराग पूजा गरेपछि जात्रा सम्पन्न भएको हो ।

किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको यो जात्रा विशेषरूपमा सोमबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइएको र देवगण (दुइचा न्याकेगू) हरूलाई सुस्तरी तारेपछि सुरु भएको थियो । किंवदन्तीअनुसार महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो ।

जात्राको अन्तिम दिन बुधबार लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय विकुनारायण ताम्राकारले बताए । उनका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः कामक्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो, तर पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिँदै आइएको हो ।

पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन सोमबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैँडू पूजा (होम गर्ने) गरिएको थियो । दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।

Panauti Jatra

June 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको