बनेपा । काभ्रेकाे बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ ।
बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गाैतमकाे प्रमुख आतिथ्यतामा नगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको हाे ।
नगरका सबै वडाभित्रका गाउँ, टोल र समुदाय, गल्ली, मन्दिर परिसर, सडक वा कुनै पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको/नदेखिएको वा फेला नपरेकोले २०८२ जेष्ठ २७ गतेको नगरकार्यपालिकाको निर्णय अनुसार सबै वडाहरु र बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गर्ने निर्णय भए बमाेजिम घोषणा गरिएको नगर उपप्रमुख विमला सापकोटाले जानकारी दिनुभयाे ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न राष्ट्रिय बालअधिकार परिषद्को सूचना बमोजिम नगरका १४ वटै वडा समितिको निर्णय अनुसार बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको हाे । यसका लागि बनेपाले नेपालको संविधानको भाग ३, मौलिक हक, धारा ३९, बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७०, स्थानीय सरकार संचालन ऐन २०७४ तथा बनेपा नगरपालिकाको बालबालिकासम्बन्धी विभिन्न नीति निर्देशिका कार्यविधिहरु लगायत सूचकहरु पूरा गरेकाे छ ।

June 12, 2025, Jyotishsanchar press

