काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ ।
समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितीमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए ।
चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितीकीय सेवाको सम्बर्द्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ समितिको स्थापना विसं २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमा गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको जनाएको छ । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ ।
यसैगरी हालसम्म नदी/खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ ।

June 16, 2025, Jyotishsanchar press

