वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब छ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड सङ्कलन भएको छ ।

June 22, 2025, Jyotishsanchar press

