नमोबुद्ध नगरपालिकाकाे बजेट ८० करोड ७३ लाख

काभ्रे । जिल्लाकाे नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगरप्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले दीर्घकालिन सोचसहित तयार भएको कृषि रणनीति योजनालाई कार्यान्वयनमा लगिने बताए ।

विपद् पश्चात क्षति भएका खानेपानीका भाैतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै महिला स्वयंसेविकालाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक रकम एक हजार उपलब्ध गराउँदै आइएकोमा आगामी आर्थिक वर्षबाट ५ सय थप गरी मासिक १ हजार ५ सय का दरले प्रोत्साहन कार्यक्रमका लागि १४ लाख ५८ बजेट विनियोजन गरिएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार“ लाई हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी नगरवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्याय सहितको समाजवाद उन्मुख अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट तर्जुमा गरिएको उनले बताए । सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुर्याउने कार्यलाई निरन्तर दिइने नगरपालिकाले जनाएको छ । भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासी जग्गा वितरण कार्यक्रम लाई थप प्रभावकारी बनाउन १५ लाख विनियोजन गरिएको छ । नमोबुद्ध कोसेली घर निर्माण तथा नगरस्तरीय सार्वजनिक शौचालय निर्माण गर्ने नगरपालिकाको योजना छ ।

नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखालाई अनुदानस्वरूप ३ लाख विनियोजन गरिएको छ । संघीय सरकारको अनुदानमा नेपाल जलवायु नमुना कार्यक्रमको लागि २० लाख बजेट विनियोजन भएको छ। उद्यमशीलता, रोजगारीमुलक सशक्तीकरण सीप विकास तथा क्षमता अभिवृद्धि तालिम, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ । बालमैत्री नगरपालिका घोषणाका लागि कार्यक्रम संचालन गरिँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

510972420 24855797854020774 5405436457027875828 N

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको