मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

कुन्तावेसी । काभ्रेको मण्डनदेउपुर नगरले १ अर्ब १० करोडको बजेट ल्याएको छ । मंगलबार नगरमा बसेको नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख विष्णुमणि नेपालले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ रुपैंयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ ५० करोड २२ लाख ५० हजार रुपैंयाँ (४५.३४ प्रतिशत) र चालुतर्फ ६० करोड ५२ लाख ९५ हजार ५५९ (५४.६६ प्रतिशत) रहेको छ।

नगरपालिकाको दैनिक प्रशासनिक कामकाज तथा प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक पर्ने प्रशासनिक खर्चको लागि २१ करोड १५ लाख १ हजार ५५९ रुपैंयाँ विनियोजन गरिएको उपप्रमुख नेपालले बताउनुभयो । यस्तै नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा अर्थिक, सामाजिक, पूर्वाधार विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैंयाँ विनियोजन भएको छ । विनियोजित बजेट रकमबाट मण्डनदेउपुर नगरपालिकाको पहिलो आवधिक योजनाले परिलक्षित गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा योगदान पुर्याउने गरी कार्यक्रम छनौट गरिएको छ ।
यस्तै विपद् व्यवस्थापन, कोष व्यवस्थापन, राहत वितरण र विपद्बाट क्षतिग्रस्त नीजि आवास तथा संरचनाहरुको पुनर्निर्माणका लागि २ करोड रुपैंयाँ व्यवस्था गरिएको छ ।

चालु आवको संशोधित अनुमान बमोजिम नगरपालिकाबाट चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी सम्पन्न नहुने देखिएकाले चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी दायित्वको लागि ७ करोड ८७ लाख रुपैंयाँ विनियोजन गरिएको नगरसभामा जानकारी दिइएको छ ।

बजेट प्रस्तुत अघि नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकारको हैसियतबाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरिएको बताउनुभयो । मूलतः यस अवधिमा विगत वर्षहरुदेखि नै सञ्चालित आवश्यक कार्यक्रमहरुको निरन्तरता र शीघ्रताका साथ सम्पन्न गर्ने कुरालाई जोड दिँदै थुप्रै नवीन, सिर्जनात्मक, समाजवाद उन्मुख र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभयो । नगर सभा, नगर कार्यपालिका, विषयगत समिति, शाखा र वडास्तरवाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी तथा स्मार्ट कार्यसम्पादन गर्न प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Mandan Deupure

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको