मण्डनदेउपुर र पाँचखालमा मनाइयाे राष्ट्रिय धान दिवस

पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यसैक्रममा जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाकाे आयाेजना तथा पशु सेवा कार्यालय काभ्रे र बागबानी विकास केन्द्र पाँचखाललगायतकाे सहआयाेजनामा पाँचखालमा धान दिवस मनाइयाे ।

राेपाईं महाेत्सवमा सयाैं किसानहरुकाे उपस्थिती रहेकाे थियाे । यहाँ आधुनिक प्रविधि अपनाउँदै मेशिनबाट धान राेपिएकाे जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयाे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गाैतम, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, बागबानी विकास केन्द्रका प्रमुख विष्णु बाेगटी, रेशम खेती विकास केन्द्रका प्रमुख कृष्ण धिताल, लगायत पत्रकार तथा किसानकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । पाँचखालका फाँटमा आइतबार आधुनिक प्रविधिमा धान रोप्ने मेसिन र फोर रो प्लान्ट प्रयोग गरिएको थियाे । कार्यक्रममा सहभागी किसानहरुले समयमा मल नपाएकाे भन्दै गुनासाे गरेका थिए ।

यसैगरि जिल्लाकाे मण्डनदेउपुर नगरपालिका-८ घाइटारकाे चाखोला फाँटमा परम्परागत गोरू, ट्याक्टर र स्थानीय शैलीको प्रदर्शन गर्दै राेपाईं महाेत्सव गरिएकाे छ । काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण र काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा गरिएकाे कार्यक्रममा परम्परागत र आधुनिक कृषि प्रविधिको प्रयोग गरी रोपाइँ गरिएको थियो।

उपस्थितहरुले खेतीमा प्रविधि भित्र्याउन सके धानमा देश आत्मनिर्भर हुने भन्दै उन्नत जातकाे खेतीमा जाेड दिएका थिए । मण्डनदेउपुरमा आयाेजित कार्यक्रममा वागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, मण्डनदेउपुरका मेयर टाेकबहादुर वाइवा, उपमेयर विष्णुमणि नेपाल, बनेपाका मेयर शान्तिरत्न शाक्य, उपमेयर बिमला सापकाेटा, चाँगुनारायणका मेयर जीवन खत्रीलगायत उपस्थित रहनुभएकाे थियाे । काभ्रेमा हालसम्म ३८ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ।

514047907 24905189315748294 8996689687411679096 N

June 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको