काठमाडौँ । स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मकरूपमा प्रस्तुत गरिएको छ।
अवलोकनका क्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी थिए ।
स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिडका कार्यक्रममा सहभागी भएका हुन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

July 4, 2025, Jyotishsanchar press

