देशका ३७७ वटा स्वास्थ्य संस्थाबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले देशभरका ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने जनाएकाे छ । साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो । ‘अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्’, उनले भने, ‘प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो ।’ ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर विमितले उपचार पाउनेछन् ।

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ ।

बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । यस्तै, बोर्डले प्रत्येक स्थानीय तहमा एक/एक वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ । बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तह अन्तर्गतका कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे ।

सरकारले २०७२ सालमा कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्‍याउँदै आएको छ ।

यद्यपी अहिले सरकारले ताेकेका अधिकांश प्रथम सेवा विन्दुका स्वास्थ्य संस्थाहरुले भने आफूहरुसँग सरकारले कुनै सल्लाह नै नगरी हचुवाका भरमा प्रथम सेवा विन्दु ताेकेकाले पूर्वाधारकाे अभावमा तत्काल सेवा दिन भने नसकिने जनाउँदै आएका छन् । आवश्यक पूर्वाधारकाे तयारीका साथै आवश्यक जनशक्तीकाे व्यवस्थापन गरेर मात्र सेवा दिन सकिने उनीहरुकाे भनाइ छ । यता सेवाग्राही भने सरकारकाे निर्णयप्रति रुष्ट भएका छन् । यतिबेला देशभरका सेवाग्राही सरकारले पूर्वअवस्थामै सेवा दिनुपर्ने माग गरिरहेका छन् ।

Health Insurance Bord

July 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको