चीन भ्रमणमा जानु अघि रवि लामिछानेसँग रास्वपाका सांसदहरूको छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चीन भ्रमणमा जान लागेका पार्टीका सांसदहरूले छलफल गरेका छन्।

सभापति लामिछानेको निवासमा भएको छलफलमा महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसदहरूको सहभागिता रहेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ।

यसअघि भ्रमण टोलीका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा ध्यान दिन निर्देशन दिएका थिए।

भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान र छलफल हुने रास्वपाले जनाएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार उक्त भ्रमणलाई नेपाल र चीनबीचको राजनीतिक संवाद, आपसी समझदारी तथा विकास सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मालगायतको टोली चीन भ्रमणमा जानेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको