काठमाडौं । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौ भक्तपुर ललितपुर काभ्रे पोखरा लगायतका मुख्य नदीहरुमा छठ पर्व भव्य रूपमा मनाउन पूजास्थल निर्माण, सरसफाइ तथा सजावटको काम अघि बढाईनुका साथै एको छ । तराईको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ मनाउन विशेष तयारी पुरा गरिएको छ ।
पूजास्थलहरूको सरसफाइ सम्पन्न गरी विभिन्न रङका बत्ती र सजावटबाट झिलिमिली बनाउने काम भइरहेको छ । पोखरामा भने चारवटै स्थानमा टेन्ट राखेर व्रतालु तथा दर्शनार्थीका लागि पूजा र दर्शनको विशेष व्यवस्था मिलाइएको नेपाल–भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारले जानकारी दिए ।
उनका अनुसार रोजगारी, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका तराई–मधेस समुदायका व्यक्तिहरूलाई छठ पर्व मनाउन घर जान सम्भव नभए पनि पोखरामै धार्मिक विधिअनुसार पूजा गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले केही वर्षअघिदेखि यस्तो व्यवस्था हुँदै आएको जानकारी दिनुभयो ।
‘छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ । तराई–मधेसका समुदायका साथै भारतीय नागरिक र पछिल्लो समय पहाडी क्षेत्रका व्यक्तिहरू पनि पूजामा सहभागी हुने गरेका छन् । व्रतालुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाएका छौँ,’ अध्यक्षले भन्नुभयोे ।
उहाँका अनुसार यस वर्ष पोखरामा एक हजारदेखि एक हजार पाँच सय जनासम्म व्रतालुले छठ पूजा गर्ने अपेक्षा गरिएको छ । पूजा गर्न आउने व्रतालु, दर्शनार्थी तथा अवलोकनकर्तासहित करिब १० हजार जनाको सहभागिता हुने अनुमान गरिएको छ ।
छठ पूजालाई व्यवस्थित र मर्यादित बनाउन चारवटै स्थानमा छुट्टाछुट्टै पूजा समिति गठन गरिएको छ । ती समितिले व्रतालु तथा सहभागीबाट स्वेच्छिक सहयोग सङ्कलन गरी पूजा व्यवस्थापन गर्दै आएका छन् ।
छठ पर्व विशेषगरी सूर्यदेव र छठी माताको उपासना गरी मनाइने महत्त्वपूर्ण धार्मिक पर्व हो । यस पर्वमा व्रतालुले उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति र समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ श्रद्धालुहरू छठ व्रत बस्ने गर्छन् ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुने परम्परा छ ।
यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुनेछ ।
छठ पूजाका अवसरमा पूजा गरिने घाट तथा जलाशयका किनारलाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तला तथा विभिन्न फलफूलले सजाउने गरिन्छ । व्रतालुहरूले पूजाका सामग्रीसहित जलाशयमा उभिएर सूर्यदेवलाई अघ्र्य अर्पण गर्ने गर्छन् ।

