नवलपुर । नारायणी नदी किनारमा छठ पर्वको तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि विधिवत् रूपमा छठ पर्व सुरु भएसँगै नदी किनारमा छठघाट व्यवस्थापन, सरसफाइ तथा सजावटको काम अघि बढाइएको हो।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने परम्परा रहेको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताउनुभयो।
पर्वको दोस्रो दिन शनिबार ‘खरना’ मनाइनेछ भने तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ। त्यसैगरी, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
छठ पर्वको मुख्य दिन नजिकिएसँगै नारायणी नदी किनारमा स्नानघाट व्यवस्थित बनाउने, सरसफाइ गर्ने, पूजास्थल सुरक्षित बनाउने तथा झिलिमिली बत्ती र आकर्षक पण्डालले सजाउने काम भइरहेको समितिका अध्यक्ष जयकिशोर पाण्डेले जानकारी दिनुभयो।
छठ पर्व तराई समुदायमा मात्र सीमित नरही पछिल्लो समय पहाडी तथा अन्य समुदायमा समेत लोकप्रिय बन्दै गएको उहाँले बताउनुभयो।
यता छठ पर्व नजिकिएसँगै बजारमा पनि चहलपहल बढेको छ। पूजाका लागि आवश्यक बाँसका नाङ्लो, डालो, सुपली, टोकरी, माटोका कलश, दियो, फलफूल, उखु, मिठाइ तथा अन्य पूजासामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ।

