पर्यटकको चहलपहल उल्लेख्य रुपमा बढ्यो दैनिक तिनहजार पर्यटक घान्द्रुक भित्रिय

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् ।
तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका प्रमुख पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र ल्वाङ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउनसमेत कठिन हुन थालेको छ ।
पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा पाउन कठिन भएपछि पर्यटन व्यवस्थापन समितिले अग्रिम बुकिङ गरेर मात्र भ्रमणमा आउन पर्यटकलाई आग्रह गरेको छ । घान्द्रुक पुग्ने पर्यटकमध्ये अधिकांश आन्तरिक रहेका छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा परिचित घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो । अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीयको आतिथ्य यहाँका प्रमुख आकर्षण हुन् ।
सडक पहुँच विस्तार भएपछि पछिल्लो समय घान्द्रुकमा आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० वटा होटल र ३५ वटा घरबास सञ्चालनमा छन् ।
त्यस्तै, मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप बढेको छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।
नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न उनले आग्रह गरेकी छन् ।
हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ । एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन तथा बाटो, पुराना शैलीका झ्यालढोका र साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन् । मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले सिक्लेस पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान तथा स्थानीय परिकार यहाँका थप आकर्षण हुन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीय व्यवसायी बताउँछन् ।
करिब दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको सिक्लेसको पर्यटन व्यवसाय अहिले होटल तथा घरबाससम्म विस्तार भएको छ । पर्यटकको बढ्दो आगमनले स्थानीय व्यवसायलाई उत्साहित बनाएको छ भने एकैपटक धेरै पाहुना आउँदा आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
यसैगरी, पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल तथा घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन् ।
विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा चार सय जनासम्म पाहुनालाई आवासको व्यवस्था गर्ने क्षमता रहेको छ । प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने स्वदेशी तथा विदेशी पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ ।
समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ । गाउँको सिरानमा एक हजार दुई सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो ।
चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन पर्यटक ल्वाङ पुग्ने गरेका छन् । यहाँ आउने पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती तथा निगालोबाट डोको र सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् ।
अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले समेत ल्वाङमा विश्राम गर्ने गरेका छन् । नजिकै रहेका पोखरा क्यानोनिङ र घले गाउँले पनि यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन् ।
पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकमार्फत पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभव लिन चाहने पर्यटकको रोजाइमा यी गन्तव्य पर्दै आएका छन् ।
तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले कास्कीका ग्रामीण पर्यटन गन्तव्यमा चहलपहल बढाएको छ । पर्यटकको आगमनले होटल, घरबास तथा स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ । तर, एकैपटक ठूलो सङ्ख्यामा पाहुना पुग्दा पर्याप्त आवासको उपलब्धता र पर्यटक व्यवस्थापन भने चुनौतीका रूपमा देखिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको