नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ।
आइतबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा गरेर बीमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताएका हुन् ।
यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गर्न आग्रह गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने, “बीमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु । अब प्राप्त हुने बिमाबापतको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न सके राम्रो हुनेछ ।”
पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको मन्त्री पौडेलले बताए । सीमित साधन स्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकामा प्राथमिकस्तरको अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

July 21, 2025, Jyotishsanchar press

