धुलिखेल । अब धुलिखेल अस्पतालबाटै रेफर सेवा पाइने भएको छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले बीमाको रेफर लगायतका सेवा सोमबार (आज) देखि धुलिखेल अस्पतालको कम्पाउण्डबाटै उपलब्ध गराउने भएको हो ।
स्वास्थ्य बीमा गराएका बिरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म जान समस्या भएको र पूर्वाधारको पनि अभाव रहेकाले हाललाई यो सेवा अस्पतालकै कम्पाउण्डबाट दिनेगरि तयारी गरिएको धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले जानकारी दिनुभयो । श्रावण २६ गतेबाट तत्कालका लागि धुलिखेलका स्थायी र अस्थायी बसोबास गर्ने नागरिकले यो सेवा पाउने भनिए पनि अस्पतालमा आएका सबैले यसको सेवा लिन पाउने पनि उहाँले बताउनुभयो । हाललाई धुलिखेल अस्पतालको पहिले बीमा सेवा दिइने गरिएकै भवनबाट सेवा सुचारु हुने र यसका लागि तीन जनाको वरिष्ठ चिकित्सकहरुको टोली खटिने भएको छ ।
साउन १ गतेदेखि सरकारले ल्याएको नयाँ नियमले अन्योलमा रहेका नागरिकलाई यसले राहात पुग्ने धुलिखेल ८ का वडाध्यक्ष बिनोद गौतमले बताउनुभयो । स्वास्थ्य बीमा बोर्डले काभ्रेका ४ प्राथमिक स्वास्थ्य केन्द्र र एउटा अस्पताललाई प्रथम सेवा बिन्दु तोकेको छ । जसमा पनौतीका २ प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुचारु भएको भए पनि पाँचखाल र धुलिखेलमा पूर्वाधार र जनशक्ति अभावले सेवा संचालनमा आएको थिएन । मेथिनकोट अस्पतालबाट भने नियमित सेवा संचालन भइरहेको बताइएको छ ।

August 11, 2025, Jyotishsanchar press

