क्यान्सरपीडितको सहयोगका लागि साइकल यात्रा हुँदै

धुलिखेल । साइकल कल्चर कम्युनिटीको आयोजना तथा धुलिखेल अस्पतालको सहकार्यमा आगामी पुस १७ गते (जनवरी १, २०२६) देखि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म बृहत् साइकलयात्रा हुने भएको छ ।

बुधबार काभ्रेपलाञ्चाकको धुलिखेल अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो । आयोजकका अनुसार मध्यपहाडी लोकमार्ग हुँदै पूर्व–पश्चिम साइकलयात्रा हुनेछ । साइकलयात्रा अवधीभर एक हजार आठ सय किलोमिटर साइकलयात्रा हुने आयोजनाका संयोजक तारालाल श्रेष्ठले जानकारी दिनुभयो ।

साइकलयात्रामा ५२ हजार मिटर उचाई पूरा गर्ने अनुमान छ । सो यात्रामा मेचीदेखि महाकालीसम्मका साइकलयात्री सहभागी हुन सक्नेछन् । एक महिनासम्म चल्ने यात्रामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा विभिन्न शहरहरूमा क्यान्सर र अन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि हुनेछन् ।

साइकलयात्रामा जोडिएका सहयोगीहरूबाट प्राप्त सहयोग क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पतालमा हस्तान्तरण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखरका हर्क लामाले यसको नेतृत्व गर्दैछन् । लामासँगै स्तन क्यान्सरको तेस्रो चरणलाई परास्त गर्दै सक्रिय जीवन जीउँदै आएकी कविता चित्रकार पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम एकदमै प्रभावकारी र सन्देशमूलक रहेको धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकजुले बताउनुभयो । सोही कार्यक्रममा धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले लेख्नु भएको पुस्तक “अर्बुद मन्थनः दीर्घ जीवन” को विमोचन पनि गरिएको थियो ।

Dhulikhel Hospital Press Meet 2

October 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको