काठमाडौँ । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघीय सरकार र स्थानीय तहबीच समन्वय सुरु गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यार्थी भर्ना, शुल्क विवाद र शैक्षिक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल सुरु गरेको हो। सो छलफल सोमबार सिंहदरबार स्थित मन्त्रालयमा आयोजना गरिएको छ।
काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीहरूको सहभागितामा विद्यार्थी भर्ना प्रक्रिया र शुल्कसम्बन्धी विवादबारे छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
शैक्षिक सत्र सुरु हुने संघारमा देखिएको भर्ना तथा मापदण्डविपरीत शुल्क सम्बन्धी अन्योलता समाधान, वार्षिक शैक्षिक क्यालेन्डर निर्माण र आगामी रणनीति तय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो।
त्यस्तै, निजी विद्यालयमा देखिएको शुल्क अनियमितता तथा पछिल्लो गतिविधिका विषयमा समेत समीक्षा गरी आगामी मार्गनिर्देशन तय गर्ने तयारी गरिएको छ।

