सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकृति र आस्थाको पर्व छठको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध रहेको बताएका हुन् ।

छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने उल्लेख गर्दै उनले यस पर्वमा भगवान् सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गरिने बताएका छन् ।

प्रधानमन्त्री शाहले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्नुपर्ने सन्देश दिने उल्लेख गरेका छन् ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको उनले स्मरण गरेका छन् ।

छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा मिलोस् भन्ने कामना पनि प्रधानमन्त्रीले गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा छठ पर्वको शुभकामना दिँदै मैथिली भाषामा समेत सन्देश लेखेका छन् । उनले भगवान् सूर्यदेव र छठ परमेश्वरीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामना गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको