काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट भ्रमणका विषयमा समान खालका सुझाव प्राप्त भएका छन्।
प्रधानमन्त्रीले राज्यको दृष्टिकोण र चासोलाई ध्यानमा राखेर भ्रमणका गतिविधि अघि बढाउन सुझाव दिनुभएको उनले बताए।
त्यस्तै, आचार्यले भ्रमणका क्रममा सीपीसीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। यद्यपि बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँग छलफल हुन सक्ने उनले जानकारी दिए।
भ्रमणका क्रममा विशेषगरी प्रविधि, कनेक्टिभिटी तथा दुई देशबीचको सीमापार सहकार्यका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

