काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी संगठनहरू दलको हित गर्ने ‘स्लिपर सेल’ मा परिणत भएको टिप्पणी गरेका हुन् ।
“वर्षौंदेखि योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,” उनले लेखेका छन्, “त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो- शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध ।”
“विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” प्रधानमन्त्रीले थप भनेका छन्, “हामी चाहन्छौँ विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति सिकून् र कर्मचारीले नेताको छहारी होइन, विधिको मार्ग खोजून् ।” उनले यो कुनै दलविरुद्धको लडाइँ नभई देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने भविष्य बचाउने प्रयास भएको बताएका छन् ।
विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् ।
‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो ।’वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले प्रणाली नै ध्वस्त पारेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब योग्यता र क्षमतालाई मात्र आधार बनाइने उद्घोष गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर यस्तो निर्णय गरेको नभई थप अर्को दलगत संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने विगतको पाठबाट सिकेर यस्तो कदम चालिएको उनले स्पष्ट पारे । सरकारले हालै अध्यादेशमार्फत यी क्षेत्रमा रहेका विकृति हटाउने निर्णय गरेको जानकारी दिँदै उनले यसबाट पेशागत स्वतन्त्रता अझ बलियो हुने दाबी गरे ।
परिवर्तन भाषणले नभई निर्णयले आउने उल्लेख गर्दै उनले आम नागरिकको जनचाहना बमोजिम नै सरकारले यस्तो निर्णय लिएको बताए । उनले नियुक्ति, सरुवा र बढुवाको आधार अब दलगत निकटता नभई विधि, क्षमता र दक्षता मात्र बन्ने कुरामा विश्वास दिलाउँदै सबै पक्षसँग साथ र सहयोगको अपेक्षा गरेका छन् ।

