काठमाडौँ । काठमाडौँका दुई अलग–अलग स्थानबाट सुनका गहना र नगदसहित करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
तारकेश्वर नगरपालिका–८ लामबगर भेटघाट चोकमा डेरा गरी बस्ने राजकुमार खड्कासहित दुई जनाको कोठाबाट बुधबार दिउँसो सुनका गरगहना चोरी भएको हो । खड्काको कोठाबाट मात्रै करिब ३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही वडाको नेपालटार डाँडागाउँमा बस्ने नुवाकोटकी ३९ वर्षीया निशा राईको कोठाबाट बुधबार बिहान सुनका गहना र नगदसहित करिब १ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
दुवै घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

