आठ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ आवेदन, छनोट प्रक्रिया सुरु

काठमाडाैं । विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि परेको २१८ वटा आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको छनोट तथा सिफारिस समितिले वैशाख २५ गते इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन् । यस्तै, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा ३८/३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ जनाको आवेदन परेको छ ।

समितिले आवेदकका कागजात अध्ययन तथा छानबिन गरी स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गर्ने र त्यसपछि छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

गत वैशाख २४ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएको थियो । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशमार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो ।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल तथा सम्बन्धित विश्वविद्यालयका विज्ञ सदस्य रहने समिति गठन गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको