काठमाडाैं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट ३, कोशीबाट १, मधेसबाट १, बागमतीबाट १, गण्डकीबाट १४, लुम्बिनीबाट ९, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट ३ जना रहेका छन् ।
प्रहरीले उनीहरूबाट १ थान चाइनिज पेस्तोल, १ थान पेस्तोल, १ थान रिभल्वर, २ थान कटुवा पेस्तोल, २१ थान भरुवा बन्दुक, १ थान बन्दुक र २ थान एयरगनसहित २९ थान हातहतियार बरामद गरेको जनाएको छ ।
त्यसैगरी, चाइनिज पेस्तोलको १ राउण्ड गोली, एसएलआरका २६३ राउण्ड र विभिन्न बन्दुकका ७० राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध हातहतियार नियन्त्रण तथा अपराधमुक्त समाज निर्माणका लागि यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने र अवैध हतियारबारे सूचना दिन तथा बुझाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

